डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 मइ। विज्ञान अनि तकनिकीलाई प्रमुखता दिदैँ कालेबुङको डेलोस्थित कालेबुङ विज्ञान केन्द्रले राष्ट्रिय तकनिकी दिवस विभिन्न कार्यक्रमसँगै पालन गऱ्यो। उक्त दिवसको सुअवसरमा केन्द्रले फिल्म तकनिकी अनि ब्रिकेट अर्थात् माटोला बनाउने तकनिकीमा वार्ताको आयोजना गरेको थियो।
वार्ताकारको रूपमा पन्नु लकसम,सिनेम्याटोग्राफरले फिल्म तकनिकीमाथि वार्ता प्रस्तुत गरे। उनले शुरूदेखि वर्तमानसम्म फिल्म तकनिकीमा के कस्ता नयाँ तकनिकीहरूआएका छन् उक्त विषयमाथि आफ्नो गहन वार्ता प्रस्तुत गरे। वार्ताको अवधि विद्यार्थीहरूद्वारा उनलाई सोधिएको प्रश्नहरूको उत्तर उनले सरल ढङ्गमा दिए।
केन्द्रद्वारा अर्को वार्ताकारकोरूपमा आमंंत्रित महेन्द्र छेत्रीले माटोलामाथि आफ्नो वार्ता राखे। उनले उपस्थित नानीहरूको सामु माटोला जलाएर देखाउनको अतिरिक्त माटोला बनाउने यन्त्रको पनि प्रद्रर्शन गरे। उनले माटोलाको उपयोगिता विषय पनि बताए।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आमन्त्रित फिल्म निर्देशक विक्रम पराजुलीले राष्ट्रिय तकनिकी दिवसको महत्वबारे बोल्दै केन्द्रको यस प्रकारको कार्यक्रमप्रति प्रशंसा गरे। वार्ताकारको रूपमा आमन्त्रित वार्ताकारद्वय पन्नु लकसम अनि महेन्द्र छेत्रीलाई केन्द्रको पक्षबाट सम्मान पनि जनाइयो। कार्यक्रममा कुमुदिनी होम्स,सप्तश्री ज्ञ्यानपीठ अनि इन्डो टिबेटन विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
केन्द्र प्रमुख बीबी गुरूङले भने, भारतको राज्य राजस्थानको पोखरानमा आजकै दिन अर्थात ११ मई १९९८ को दिन देशले आफ्नो प्रथम अनि सफल परमाणु परीक्षण गरेका थियो। आजको दिन त्यस सफलतालाई सम्झने पल हो, उनले भने। उनले आजको दिनले नानीहरूलाई विज्ञान अनि तकनिकीमाथि प्रेरित मात्र नभएर त्यसको मार्फत आफ्नो केरियरलाई सुन्दर आकार पनि दिन सकिन्छ भने।
कार्यक्रमको सञ्चालन अतिरिक्त केन्द्रका शिक्षा सहायक हेमन्त थापाले गरेका थिए।