Broken Pipes at Gambhirey Bhir Photo: Mukesh Sharma
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 20 जून। हिँउदको समयमा पिउने पानीको हाहाकार हुने कालेबुङ शहरमा वर्षाको मौसम लागेपछि पनि पानीको समस्या भने समाधान हुने छाँट देखिएको छैन। वर्षाको मौसम लाग्न साथै कालेबुङ शहरमा वितरण हुने पिउने पानीको पाइप अलगडा नजिक गम्भिरे भीरमा पैह्रो गएपछि अवस्था अझ गम्भिर बनेको छ। 
16 जुन विहिबारका दिन कालेबुङ शहरका मानिसहरूले अन्तिमपल्ट पिउने पानी प्राप्त गरेका थिए भने गत 17 जुनका दिन रातभरी परेको अविरल वर्षाले गम्भिरे भीरमा पैह्रो गएपछि अवस्था अझ गम्भिर बन्न पुगेको हो। विभागीका क्षेत्रीय कार्यकारी महेन्द्र छेत्रीले दिएको जानकारी अनुसार अलगडा नजिक गम्भिरे भीरमा लगभग दुईसय फिट लामो पैह्रो झरेको छ। जसको कारण कालेबुङ शहरमा वितरणका निम्ति ल्याइएका पानीका पाइपहरू सबै पैह्रोसँगै सोह्रिएर गएको छ। 
पैह्रोले पानी सोह्रेर लगेपछि हाल विभागीय कर्मीहरू जनतालाई पानी सर्वराह गर्नका निम्ति कार्य गरिरहेको महेन्द्र छेत्रीले जानकारी दिएका छन्। उक्त पानीका पाइपहरूलाई व्यवस्थित पार्ने कार्य युद्धस्तरमा चलिरहे पनि कार्य समापनको निम्ति अझ चार दिन भन्दा धेर समय लाग्न सक्ने सम्भावना रहेको उनले अझ बताएका छन्। पानीको पाइप सबै पैह्रोले सोह्रेर लगेपछि यहाँको डेलोस्थित जलभण्डारमा एकथोपा पानी आउन सकेको छैन। 
हाल उक्त जलभण्डारमा पिउने पानी 17 फुट रहेको छ भने उक्त पानी आपतकालिन सेवाका निम्ति सुरक्षित राखिएको छ। 
यसैक्रममा हालमा सुरक्षित राखिएका उक्त जलभण्डारको पानी कालेबुङ महकुमा अस्पतालमा दिने कार्य भइरहेको छ भने आपतकालिन अवस्थामा अग्निसमन विभागलाई दिन सकिने महेन्द्र छेत्रीले जानकारी दिएका छन्। 
गम्भीरेले भीरको पैह्रोले पिउने पानीको अवस्था अझ गम्भिर बनेपछि विभागीय अधिकारी महेन्द्र छेत्रीले खेद प्रकट गरेका छन्।