डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 जुलाई। जन आन्दोलन पार्टीको भातृ सङ्गठनको रूपमा गठन भएको माध्यमिक शिक्षक सङ्गठनको केन्द्रिय समिति गठन गरिएको छ। दुई महिना अघि गोजमुमो पार्टीको भातृसङ्गठन जनमुक्ति माध्यमिक शिक्षक सङ्गठनबाट छुटिएर गठन भएको माध्यमिक शिक्षक सङ्गठनको आज केन्द्रिय समिति गठन गरिएको हो। 
जन आन्दोलन पार्टीको छत्रछाँयामा आउने शिक्षकहरूको उक्त संगठनले पहाड़को पुरानो शैक्षिक गरिमालाई फर्काइल्याउने दावी गरेको छ। आज बसेको सांगठनिक बैठकपछि उक्त केन्द्रिय समिति गठन गरिएको छ। 
आज गठन गरिएको केन्द्रिय समितिको अध्यक्ष भरत बराइली, उपाध्यक्ष पीडी भोटिया र अनिल खवास, सचिव महेश दर्नाल, सहसचिव गगन निरौला र किरण तामाङ रहेका छन्। 
केन्द्रिय समितिका कोषाध्यक्षको रूपमा सन्तोष पाख्रिनलाई चयन गरिएको छ भने विध्या सिंह केन्द्रिय प्रवक्ता बनेकी छिन्। संगठनलाई अझ मजबुत बनाउनको निम्ति कालेबुङको तीनवटा खण्डमा क्रमैले खण्ड-1 मा लवन लेप्चा, खण्ड-2 मा विध्या सिंह र खण्ड-3 मा सञ्जय राईलाई संयुक्त सचिवको रूपमा चयन गरिएको छ। 
संगठनको केन्द्रिय समितिबाट मनोज प्रधान, बिनिता छेत्री र सीबी गुरूङलाई जन आन्दोलन पार्टीको केन्द्रिय समितिमा प्रतिनिधिको रूपमा पठाइएको छ। यस अतिरिक्त संगठनका संयोजकको रूपमा आनन्द लामिछाने र सोनाम भोटियालाई चयन गरिएको छ।