पीआइबी, दार्जीलिङ, १३ जुलाई| भारतका राष्ट्रपति प्रणब मुखर्जीले अनेकतामा एकता नै देशको शक्ति रहेको कुरा दोहोर्‍याएका छन्‌| असङ्‌ख्य जातिगोष्ठीका साथै संस्कृति अनि धर्म तथा भाषा-भाषिकाको विविधता रहे तापनि प्रलयकारी साबित हुने कुरालाई ध्यानमा राख्द एकसमानता थोप्ने कोशिश कहिले नगरिएको उनले बताए|
दार्जीलिङको चौरस्तामा आदिकवि भानुभक्तको २०२ औं जन्मजयन्तीको अवसरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस प्रकारको आशय व्यक्त गरेका हुन्‌| कार्यक्रमको आयोजन पश्‍चिम बङ्गालको सूचना एवं संस्कृति विभागले गरेको थियो|
आदिकवि भानुभक्तले सरल नेपाली भाषामा रामायण उल्था गरे तापनि उनको सन्देश सम्पूर्ण मानवता अनि विश्‍व समुदायको निम्ति रहेको बताए| आदिकवि भानुभक्तले आफ्नो सन्देशको माध्यमद्वारा नै धेरैवटा राज-रजौटालाई एकसूत्रमा ल्याउँदै आधुनिक नेपाल निर्माणमा महत् भूमिका निर्वाह गरेको राष्ट्रपति मुखर्जीले बताए| यसका साथै भारत र नेपालबीचको सम्बन्ध पनि विशेष रहेको बताए|
आफ्नो सम्बोधनमा पश्‍चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीले पनि नेपाली भाषालाई आदिकवि भानुभक्त आचार्यद्वारा प्रदान गरिएको स्वरूप र सम्मान विशेष रहेको बताए| हरेक हिन्दू धर्मावलम्बीद्वारा घर-घरमा पूजा गरिने रामायणलाई सरल नेपाली भाषामा पेश गरेर उनले अति नै उल्लेखनीय काम गरेको बताए|
यसरी नै पश्‍चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सम्बोधनमा आफ्नो मन्त्री परिषद्को बैठक समय-समयमा दार्जीलिङ पाहाडमा आयोजन गर्ने घोषणा गरिन्‌| यसका अतिरिक्त पाहाडका विभिन्न अनुसूचित जातिका लागि तीनवटा विकास बोर्ड गठन गर्ने पनि घोषणा गरिन्‌|
कार्यक्रमको शुरुवाती चरणमा राष्ट्रपतिको बाहुलीबाट नेपाली भाषाका लागि साहित्य अकादमी विजेताहरूलाई अभ्यर्थना जनाइयो| राज्य सरकारको पक्षमा उनले कैयौं लाभार्थीहरूलाई वित्तीय सहायता पनि प्रदान गरे|