क़ालिमन्युज,  13 जुलाई 2016, जलपाईगडी। आनन्द चन्द्र शिक्षण प्रशिक्षण (बीएड) कलेज, जलपाईगडीमा आज आदिकवि भानु जयन्ती पालन गरिएको छ। 
नेपाली भाषी शिक्षण प्रशिक्षणार्थीहरूको प्रयासमा पालन गरिएको उक्त भानु जयन्ती कार्यक्रममा कलेजका

प्राध्यापिका डा. काकुली पल मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता प्राध्यापिका अनन्दिता देवले गरेकी थिइन्।

यस अवसरमा प्राध्यापक डा. रञ्जन सरकार विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। सर्वप्रथम कार्यक्रममा अध्यक्षा अनि मुख्य अतिथिको बाहुलीबाट आदिकवि भानुभक्तको तस्वीर अघि दिप प्रज्वलन अनि माल्यार्पण गरेपछि प्रशिक्षणार्थी श्रद्धा लामाले भानु जयन्ती पालन गर्नुको औचित्यबारे जानकारी गराइन्। उनले नेपाली समाजमा भानुभक्तको महत्व र उनले नेपाली भाषामा पुर्‍याएको योगदानवारे चर्चा गर्दै भानुभक्तबारे जानकारी प्रस्तुत गरेकी थिइन्। 
यसक्रममा प्रशिक्षणार्थी पञ्चकुमार राईले स्वागत सम्बोधन राख्दै भानुभक्तका नेपाली समाजमा पूज्य हुनुको औचित्यबारे जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रशिक्षणार्थी प्रणिता शर्माले भानुभक्तको जीवनीबारे उपस्थित बङ्गालाभाषी शिक्षक अनि प्रशिक्षणार्थीवर्गलाई जानकारी गराए। कार्यक्रममा प्रशिक्षणार्थीहरूद्वारा रामायण पाठ, कविता वाचन, सामुहिक गीत आदि प्रस्तुत गरिएको थियो। 
यस अवसरमा बङ्गला भाषी प्रशिक्षणार्थीहरूले पनि गीत अनि कविता वाचन गरेका थिए। यसैक्रममा मुख्य अतिथि डा. काकुली पलले आनन्द चन्द्र शिक्षण प्रशिक्षण (बीएड) कलेजमा आजसम्म भानुजयन्ती पालन नगरिएको जानकारी गराउँदै आजको कार्यक्रमले सम्पूर्ण कलेजपक्ष हर्षित भएको बताइन्। उनले भानु जयन्ती पालन गरेर नेपाली भाषी प्रशिक्षणार्थीहरूले आफ्ना जातीय कविलाई श्रद्धा दिएको बताउँदै अनेपाली प्रशिक्षणार्थीहरूलाई पनि आदिकवि भानुभक्तबारे जान्ने मौका प्राप्त भएको बताइन्। यस कार्यको निम्ति उनले सम्पूर्ण नेपाली भाषी प्रशिक्षणार्थीहरूलाई धन्यवाद पनि दिए। 
कार्यक्रममा प्रशिक्षणार्थीहरू क्रमैले वसन्त राई, युवराज दाहाल, निलम राई, डी.के. वाइबाले कविता वाचन गरेका थिए भने अर्पिता दासले गीत प्रस्तुत गरेकी थिइन्। 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षणार्थी सुक्छिरिङ लेप्चाले बङ्गाली समाजमा जसरी रवीन्द्र नाथलाई पूज्य मानेर उनको जन्मदिवस पालन गरिनेगर्छ ठीक नेपाली समाजले पनि भानुभक्तलाई पूज्य सम्झेर उनको जन्मदिवस पालन गरिनुको कारणहरूबारे अवगत गराएका थिए।