राजेस शर्मा, कालिमन्युज, जयगाँउ । घिसिङ हटाउ गोर्खाल्याण्ड् ल्याउको नारा संगै गठन भएको गोजमुमोले 2007को अक्टुबर महिनादेखि आरम्भ गरेको आन्दोलनमा कम्तिमा पनि पाँच जनाले ज्यान गुमाएका थिए। 4 वर्षको आन्दोलन पछि 18 जुलाई 2011 को दिन सिलगड़ीको पिंटेल भिलेजमा केन्द्र सरकार, राज्य सरकार अनि गोजमुमोको माझ त्रिपक्षीय सम्झौता भएको थियो जसको उपज हो गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन)।
यस अघि गोर्खाकै चिन्हारी र छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सुभाष घिसिङ्को नेत्रृत्वमा शुरु भएको 1986को आन्दोलन जो प्रथम वृहत्तम आन्दोलन थियो अनि जसमा 1200 जति शहिद भए – त्यसको प्राप्ति थियो दार्जीलिङ गोर्खा पार्वत्य परिषद (डी जी एच सी)।
दुवै आन्दोलनमा सम्पूर्ण गोर्खा जाति एक भएर संगसंगै नारा लगाउदै जुलूसमा हिँडे, घर झोसे, बाटो रोके, अनेकौँ कठिनाइ भोगे। पहिलो आन्दोलनमा बन्दुक बोके, दोस्रो आन्दोलनमा आन्द्रा सुकाए, ढुंगा मुडा खाए। दुवै सम्झौता पछि पहाडमा पुन शान्ति आयो मानिसहरुले आन्दोलनकालको दु:खबाट छुटकारा पाए। दुवै आन्दोलनमा डुवर्सबासीले हाम्रो पनि आंगनमा घाम लाग्छ कि भनेर सहभागी बनेर खुबै सघाए, खेदि पठाइमागे, तर हात लाग्यो शुन्य।
छुट्टै राज्य हुनैपर्छ भन्नेहरुनै गोर्खाल्याण्ड्को माग ड्रप भयो भनेर लेख्दा पनि चुपो लागेर बसे बरु नानाभाँतिका कुरा गर्दै त्यसलाई छोप्ने प्रयास गरे। अर्कोतिर् वर्तमानमुख्य मंत्रीले बंग भंग होबेना भन्दा खुशी हुदै तालि मार्दै सिटि बजाएका थिए। साधारण जनता त जनता नै भए तर आजका यही नेताहरु हुन जसले उफ्री उफ्री नाँचेर घरि घरि पटेका पड्काउदै खुशीयाली मनाउने गरेका अनि मनाउन लगाएका थिए। आज उनिहरुनै हामी मात्रै खाँटी गोर्खेहरुको भलाई र उद्धार गर्ने पार्टी हौ भन्छन। यति मात्रै होइन गोर्खा = त्यही राजनैतिक दल मान्नु पर्ने लिडेढिप्पी पनि गर्छन।
गोरामुमोको पालामा जनताले 21 वर्ष अब त केही पो भैहाल्छ कि, अब त उनिहरु सुध्रिन्छन कि भन्दै पर्खे। यता गोजमुमोले पहिलेको इतिहास नदोहोर्याउने सपना देखाएर 6 वर्ष पुर्याउदा पनि जनताले झिँजो नमानी त्यही सपनामा अब त केही पो भैहाल्छ कि, अब त उनिहरु सुध्रिन्छन कि भनेर पर्खेकै हुन ।
पहिलो एक्काइस वर्षमा छैटौ अनुसुचिले गोरामुमोले चर्चामा ल्यायो भने यही कारणले गोरामुमो राजको शेष अनि गोजमुमोको उदय भयो। वर्तमानमा राज्य सरकारद्वारा कालेबुङ जिल्ला र मिरीक महकुमाको गठन 10 वटा विकाश बोर्ड गठनको होडमा 11 वटा जातिलाई जन-जातिको मर्यादा दिलाउने गोजमुमोको होड् छ। एउटाले विकाश गरिदिने र अर्कोले विभाजन भएको आरोप्को नारा लगाएकोछ। पहाड्का क्षेत्रिय राजनैतिक दलहरुबाट बारम्बार धोका खानु परेकोले जनताको निम्ति गोर्खाल्याण्ड साँच्चै नफल्ने बनतरूल बन्न गएको छ। होइन हो स्व परिचयको युगमा हाम्रो आफ्नै राज्य हुनुपर्छ भन्नेहरु पनि आ अब यो नहुने सपना किनपो देख्नु भन्न र सोँच्न वाध्य भै अब उभो त होइन बरु उँधोको स्व परिचयको सपना पो देख्नु पर्ने विकल्पमा पुगेको देखिन्छ। जनजातिको माग र विकाश वोर्ड्को पछि तैछाड कि मैछाड लाग्नुले यही बुझाउछ। बोर्डले जिल्ला र महकुमाले अनेकता ल्याँउछ भने जनजातिले पनि अनेकता नै ल्याउँछ; यदि बोर्डले जातको र जिल्ला अनि महकुमाले क्षेत्रकोविकाश गर्छ भने जनजातिले पनि जातिको होइन जातको नै विकाश ल्याँउछ। बोर्ड र जिल्ला अनि महकुमा आइसकेकोछ भने जनजाति एक प्रयासमात्रै भएको छ।
भिरको चिण्डो भएको गोक्षेप्रले नता यँहा केही गर्न सक्षम भएको छ नत केही गर्न सक्नेवाला नै छ यो यथार्थलाई गोजमुमो स्वयले घरी घरी उकेलिरहेकोछ। राज्य सरकारले भनेझै यसको दोष गोजमुमोको असक्षमता, भष्टचार हो, क्षमताको दुरुपयोग हो भन्ने कुरालाई इंकार गर्दै गोजमुमोले राज्य सरकारको अचाँहिदो हस्तक्षेप अनि अधिकार नदिलाउनुनै गोक्षेप्रले काम गर्न नसक्नुको कारन हो भनि भनेको छ। यस्तो चेपारोमा परेको गोजमुमोको खसक्दो स्थिति नभएर अरु के हुन सक्छ र?
गोजमुमोले आफ्नो स्थिति सुधार्नको निम्ति हुनेवाला होइन तर भएको, भैसकेको कुरो देखाउन सक्नु पर्छ । गोजमुमोको निम्ति अब अर्को कुनै विकल्प नै छैन। गर्न नसकेको कुरो अब गरेर देखाउनु पर्छ कारण अधुरो सपना बोकेको पहाड र डुवर्स अब के? भन्ने पर्खाइमा छ। कारण भोलिले अर्कै मोड लिन सक्ने सँकेत देखाउँदैछ।