सरकारी अधिकारीवर्गले जनताको पैसामा भ्रष्टचार गर्दैछ – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 अगस्त। कालेबुङ शहरदेखि 14 किलोमिटर टाडोमा अवस्थित चित्रेमा 26 लाख, 50 हजार 18 रूपियाँको झोडा बाँध्ने काम अनि किर्नेमा19 लाख 14 हजार 5 सय 97 रूपियाँको टुरिस्ट रिक्रिएशन सेन्टर निर्माणको निम्ति पैसा अनुमोदन भएर पनि कार्य नभएको माकपा कालेबुङ जोनल समितिले आरोप लगाएको छ। 
माकपा नेता तारा सुन्दासले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त आरोप लगाउँदै यसबारे दार्जिलिङ जिल्लापाललाई गत 29 जुलाईका दिन अभियोग पत्र चढाएर जानकारी गराएको बताएका छन्। 
उनले उक्त कार्यको सरकारी आदेश पत्र सार्वजनिक गर्दै उक्त लाखौँ पैसा काम नगरी धाँधली भएको आरोप लगाए। 
‘किर्नेमा रिक्रिएशन सेन्टर निर्माण गरिएको सरकारी आदेश पत्र छ। त्यस आदेश पत्र अनुसार हामीले किर्नेमा भ्रमण गरेर हेर्दा त्यहाँ कुनै रिक्रिएशन सेन्टर निर्माण नभएको थाह पायौँ। त्यहाँ केवल बन विभागले निर्माण गरेको पुरानो कुनै भग्नाशेष मात्रै छ। त्यसो भए 19 लाख भन्दा अधिक पैसा कसले खायो?’ तारा सुन्दासले प्रश्न तेर्साए। 
यसक्रममा उनले जनतालाई सचेत हुने आह्वान गर्दै ‘पहाडमा बर्मा लुटाई हुँदैछ। यहाँ चोर्ने प्रतिस्पर्धा भइरहेको छ’ भने। उनले कतिपय अधिकारीवर्गले मिलेर जनताको विकासका निम्ति आएको पैसालाई भ्रष्टचार गर्ने कार्य भइरहेको आरोप लगाउँदै यसबारे जिल्लापालले कार्वाही गर्नुपर्ने माग गरेका छन्। 
माकपाले जनताको विकासका निम्ति आएको पैसा भ्रष्टचार गर्नेहरूलाई खोजेर निकाल्ने दावी गर्दै जनता पनि आफ्नो क्षेत्रको विकासमा आएको पैसा त्यसै भ्रष्टचार गर्न दिन नहुने आह्वान गरे। ‘तपाईँको विकासका निम्ति आएको पैसा कसले खाँदैछ? जनताले आफ्नो पैसा खोज्नुपर्छ’ सुन्दासले अझ भने। 
माकपाले जनताको निम्ति आएको पैसा भ्रष्टचार गर्न नदिने अडान राख्दै जनताले पनि यदि आफ्नो ठाउँमा आएको विकासको पैसा कुनै काम नगरी भ्रष्टचार गरेको थाह पाए त्यसलाई माकपाले उठान गरेर सरकारको कनमा पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन्।