डी के वाइबा, कालिमन्युज, कालेबुङ १८ फरवरी : छत्र सुब्बाको समर्थनमा जनताको नाममा पोष्टर निस्कने कार्य कालेबुंगमा शुरु भएको छ। मिरिकमा सुब्बालाई जनताले स्वागत गर्दै पोष्टर टाँसेको हप्तादिन बित्न नपाई कालेबुङमा पनि तिनलाई स्वागत गर्दै जनताको नाममा आज यस्तै पोष्टर देखा पर्यो।
बिगत दिनमा सुवास घिसिङले दागोपाप थापेर २१ वर्ष बिताएको अनि मोर्चा प्रमुख बिमल गुरुङले जीटीएमा ३० वर्ष बिताउँने आरोप पोष्टरमा लगाईएको छ । सोहि कारण गोर्खाल्याण्ड आन्दोलनको निम्ति छत्र सुब्बा अघि बड, दार्जीलिङ तराई डुवर्सका जनता साथ छ भनि पोष्टरमा लेखिएको थियो। उक्त पोष्टर यहाँको डम्बर चौकमा बिहानै टाँसिएको थयो तर त्यसलाई मानिसहरुले राम्रो पडन नपाई च्यातेर फ्याँकियो। पोष्टरमा जनताको नाम लेखिएको भए पनि उक्त पोष्टर कसले टाँसे भन्ने कुरा भने कसैले थाह हुन सकेको छैन। गोर्खाल्याण्ड प्रेमी जनताको नाममा लेखिएको उक्त पोष्टरहरुमा छत्र सुब्बाको स्वागत गर्नु मात्र होईन तर जीटीएको समेत खुल्ला रुपले बिरोध गरिएको थियो। यहाँको डम्बर चौकमा टाँसिएको गोर्खाल्याण्ड प्रेमी जनताको नाममा भएको पोष्टरमा छ्त्र सुब्बालाई गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँने आह्वान समेत गरिएको थियो।
एकातिर छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने सञ्चार माध्महरुबाट घोषणा गरेका छन भने अर्कोतिर बिभिन्न स्थानहरुमा तिनको स्वागतमा पोष्टरहरु जनताको नाममा निस्कने कार्यले पहाडको राजनीतिमा हलचल मच्चिने सम्भावना दिनो दिन बड्न थालेको छ। हाल पहाडको राजनीतिमा दुई नेताहरुमाझको वाक युद्धले पहाडको राजनैतिक हावा तातिन शुरु भईसकेको छ। बिगत सुवास घिसिङ हमला काण्डको आरोपमा पक्रा परेर निर्दोष साबित भइ रिहा पाएका गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेता छत्र सुब्बाले गोर्खाल्याण्ड आन्दोलन ल्याउँन नसक्ने दाबी गर्दै तिनी माथि मोर्चा प्रमुख बिमल गरुङले बिभिन्न आरोपहरु लगाए पछि शुरु भएको वाक युद्धले दार्जीलिङ पहाडको राजनैतिक हावा नै एकाएक गरम भएको छ।
मोर्चा प्रमुख बिमल गुरुङले लगाएका सम्पूर्ण आरोपहरुको सुब्बाले तत्काल मिडीयाको माध्यमबाट जवाब दिनुको साथै गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने घोषणाले झन राजनैतिक हावा तातिएको छ। अहिले मोर्चाले छत्र सुब्बा माथिनै आफ्नो शक्ति केन्द्रित गरेको छ भने सुब्बाले आन्दोलनलाई कसरी अघि बडाउँन सकिन्छ भन्ने कुरामा आफ्नो रणनीति तयार पारिरहेको बताएका छन। यस्तो समयमा जनताको नाममा बिभिन्न स्थानहरुमा छत्र सुब्बालाई स्वागत गर्दै पोष्टरहरु देखा पर्नुको पछि कुन अदृष्य शक्ति रहेको छ भन्ने कुरा खुबै महत्व पूर्ण बनेको छ। किन भने यता मोर्चा प्रमुख बिमल गुरुङले कालेबुङमा छत्र सुब्बाले १५-२० जना माओवादीहरु भित्राएर हतियारधारी प्रशिक्षण दिईरहेको दाबी गरेका छन भने अर्कोतिर सुब्बाले भने आन्दोलन अघि बडाउँने खुल्ला घोषणा गरेका छन। तिनको घोषणा पछि फेरि पहाडको बिभिन्न स्थानहरुमा तिनै नेताको स्वागत र समर्थनमा पोष्टरहरु देखा पर्नु कतै आन्दोलनकै रणनीति त होईनन् भन्ने प्रश्न पनि यतिखेर निकै टट्कारो बनेको छ।
गोर्खाल्याण्ड आन्दोलन, छत्र सुब्बा र अनुत्तरित प्रश्नहरुको माखेसाङ्लोमा दार्जीलिङ पहाड
डी के वाइबा, कालिमन्युज, कालेबुङ १९ फरवरी : ७ अक्टोबर २००७ को दिन दार्जीलिङ पहाडमा गोर्खा जनमुक्ति मोर्चा नयाँ राजनैतिक शक्तिको रुपमा उदय भए पछि ४४ महिना गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलन चर्केको थियो। गोजमुमो पार्टीले ४४ महिना आन्दोलन गरे पछि १८ जुलाइ २०११ को दिन जीटीएमा सम्झौता गरयो तर उक्त जीटीए सम्झौता भएको ७ महिना लाग्दा समेत कार्यन्वयन हुन नसक्दा पुन: दार्जीलिङ पहाडमा आन्दोलन सुरु हुने छाँट बन्दै गईरहेको छ। एकातिर मोर्चाभित्र नै जीटीए कार्यन्वयन नहुँदा आक्रोस बडिरहेको छ भने अर्कोतिर बिगतका जङ्गी नेता छत्र सुब्बाले पनि गोर्खाल्याण्ड आन्दोलन सुरु गर्ने केहिदिन अघि सञ्चार माध्यमहरुबाट घोषणा गरेका छन्। सुब्बाको घोषणा पछि हाल दार्जीलिङ पहाडमा वाक युद्ध संगै राजनैतिक वातावरण तातो बन्दै गईरहेको छ भने तिनको आन्दोलन सम्बन्धि पनि अनेकौं प्रश्नहरु खडाभएको छ।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पुन: शुरु गर्छु भनेर सञ्चार माध्यमबाट घोषणा गर्ने छत्र सुब्बाले के साँच्चै गोर्खाल्याण्ड आन्दोलन गर्ने नै हुन् ? कतै यो तिनको हूँकार मात्र होईन ? के साँच्चै तिनले आन्दोलन गरेर् गोर्खाल्याण्ड ल्याउँन सक्लान ? दागोपापको लिखित बिरोध गर्ने छत्र सुब्बाले बिगतका आन्दोलनहरु जस्तै आधाबाटोमा नै चौतारी त खोज्ने होईनन् ? कतै तिनले कुरा गरेको आन्दोलन गोजमुमोको शक्तिलाई पहाडमा कम्जोड बनाउँने सुनियोजित षडयन्त्र त होईन ? यस्ता अनेकौ प्रश्नहरु अहिले दार्जीलिङ पहाडको राजनीतिमा उठ्न शुरु भएको छ ।
छत्र सुब्बा बिगत अस्सिको दशकमा पहाडमा चलेको हिंसात्मक आन्दोलनकालमा सुवास घिसिङ पछि दोस्रो चर्चित नाम हुन्। पछि तिनै सुवास घिसिङले २२ अगष्ट १९८८ मा दागोपापमा सम्झौता गरे पछि छत्र सुब्बाले तिनलाई अलबिदा भनेर गोर्खाल्याण्ड आन्दोलन गर्ने ताकमा गोरामुमो छोडेर छुट्टै राजनैतिक दल गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) खोल्न पुगे। सुवास घिसिङलाई चुनौति दिंदै तिनले जीएलओ गठन गरेको भएता पनि जनताको साथ र सहयोगको अभावमा तिनले कुनै प्रभावकारी आन्दोलन गर्न सकेनन्। त्यस पछि तिनी योग साधना तिर लागे राजनैतिक जीवन त्यागेर। दार्जीलिङ पहाडमा हिंसात्मक आन्दोलन गर्ने सुब्बा सामयको आरोह र अवरोहमा योग साधना तिर लागे पनि तिनले राजनैतिक यात्रालाई भने अलबिदा जनाएका थिएनन् अनि पछि बाट पुन आन्दोलन गर्ने मुडमा देखा परे जीएलओ पार्टीकै नाममा तिनी।
दागोपाप पार्षदहरुलाई राजीनामा दिनु पर्ने फरमान जारि गर्दै तिनले व्यक्तिगत् नाममा पत्रहरु प्रेषित गरे। तिनको यहि आशयको पोष्टर कालेबुंगमा टासिएको छापामा आउँन थाल्नुको साथै पछिबाट जीएलओबाटै तिनले गोर्खा लिबरेसन आर्मी (जीएलए) खोलेको सार्बजनिक भए पछि तिनी एकाएक भूमिगत भए। पछिबाट गोरामुमो प्रमुख सुवास घिसिङ हमलाकाण्डको आरोपमा पक्रा परेर लगभग ११ वर्ष जेल जीवन भोगेर तिनी गत ६ महिना अघिमात्र घरमा आएका छन्। ११ वर्षपछि घर आइपुगेका छत्र सुब्बाले सुरुको दिनहरुमा राजीनितिबाट टाडा रहने बिचार पोख्ने गरेका थिए तर ६ महिना पुरा हुँदा नहुदा तिनै छत्र सुब्बाले पुन गोर्खाल्याण्ड आन्दोलन गर्ने घोषणा गरे पछि अहिले पहाडको राजनीतिमा नयाँ मोड आउँने ब्यापक सम्भावना रहेको छ।
गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेताको रुपमा परिचित छत्र सुब्बाले “सम्झौता गर्नेहरुले आन्दोलन गर्न सक्दैन” भन्दै घरि घरि यसै कुरालाई दोहोराउँदै सुवास घिसिङले सम्झौता गरेको कारण आन्दोलन गर्न सकेन अनि मोर्चाले पनि समझौता गरेको कारण अबोप्रान्त आन्दोलन गर्न नसकने दाबी गरिरहेका छन। छुट्टै राज्यको निम्ति आन्दोलन गर्न अहिले तिनी रणनीतिहरु तयार पारिरहेको कुरा बताईरहेका छन। हाल आन्दोलनको रणनीति बनाउँन ब्यस्त रहेका सुब्बाले आन्दोलन गर्ने त्यतिबेला मात्र कुरा गरे जब तिनलाई मोर्चा प्रमुख बिमल गुरुङले कालेबुङमा आयोजित मोर्चाको कार्यक्रमबाट बिभिन्न आरोपहरु लगाएका थिए। किन मोर्चा प्रमुख गुरुङले बिभिन्न आरोप लगाए पछि मात्र सुब्बाले आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन? भन्ने प्रश्न खुबै टट्कारो बनेको छ। कतै यो पूर्व नियोजित कार्यक्रम नै त होईन ? किन बिमल गुरुङले मौन बासेका छत्र सुब्बालाई बिभिन्न आरोपहरु लगाउँन उचित ठाने ? यस्ता अनुत्तरित प्रश्नहरु एक पछि अर्को गर्दै अहिले घरि डलेलो सल्के जस्तै पहाडको राजनीतिमा छ्याप छयाप्ति बडीरहेको छ।
हाल आन्दोलनको रुपरेखा तयार पारिरहेको बताउँने छत्र सुब्बाले यसपालीको आन्दोलन नितान्त शान्तिप्रिय अनि गणतान्त्रिक हुने समेत घोषणा गरेका छन्। बिगतका जङ्गी नेताले यसपालीको आन्दोलन शान्तिप्रिय अनि गणतान्त्रिक तरिकाले गर्ने घोषणा गरेको भएता पनि जनताले भने यस कुरालाइ सोझै बिश्वास गरिहाल्न सकेका छेनन्। दागोपापको लिखित बिरोध गरेको कारण तिनको ईमान्दारीपनमा मानिसहरुले बिश्वास गरिरहेका छन तर आन्दोलन साँच्चै शान्तिप्रिय तरिकाले गर्ने कुरामा भने तिनी माथि अनेकौं शंकाको प्रश्नहरु उठेको छ।
Related posts:
- छत्र सुब्बाको भ्रमण पश्चात्, पुन: गोर्खाल्याण्ड आन्दोलन थाल्ने संकेत : जनताको साथ पाइन्दै जानेछ, रणनीति बनिन्दै जानेछ् – छत्र सुब्बा
- जीटीएको विरुद्धमा छत्र सुब्बा – फेरि आन्दोलन
- छत्र सुब्बा, अजय दाहालहरूको गोप्य बैठक?….गोर्खाल्याण्ड आन्दोलन अब कुन मोडतिर जाने ?
- डा.हर्कबहादुर छेत्रीले सुधारे वयान..विकास र जीटीएको रूल एकैसाथ…कानूनको रिव्यु हुनुपर्छ -छत्र सुब्बालाई विश्राम दिनुपर्छ-डा छेत्री
- धेरै दिनपछि बोले छत्र सुब्बा- ‘मलाई र छोरालाई थुन्दैमा आन्दोलन रोकिँदैन’